नियम २१५
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले विवरण दिनुपर्ने

(१) प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेताले यो नियमावली प्रारम्भ भएको मितिले सात दिनभित्र देहायको विवरण सचिवालयमा उपलब्ध गराउनु पर्नेछ ः-
(क) आफ्नो दलका सदस्यको नाम र विवरण,
(ख) सचिवालयसँग दलको तर्फबाट लेखापढी गर्न अधिकृत गरिएका बढीमा दुईजना सदस्यको अनुसूची–६ बमोजिमको ढाँचामा नाम र दस्तखत नमूना,
(ग) सम्बन्धित राजनीतिक दलको विधान वा नियमको एक प्रति, र
(घ) सम्बन्धित संसदीय दलको छुट्टै विधान वा नियम भए सो को एक प्रति ।
स्पष्टीकरण :- यस परिच्छेदमा “दलको नेता” भन्नाले सम्बन्धित दलले आफ्नो नेता भनी छानेको सदस्यलाई सम्झनु पर्छ र सो शब्दले सभामा नेताले गर्नु पर्ने कार्य गर्न सम्बन्धित दलले अधिकृत गरेको सदस्यलाई समेत जनाउ“छ ।
(२) कुनै दल सभाको कार्यकालमा गठन भएमा त्यसरी गठन भएको सामान्यतया सात दिनभित्र सो दलको नेताले उपनियम (१) बमोजिमको विवरण सचिवालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको विवरणमा कुनै परिवर्तन भएमा दलको नेताले त्यसरी परिवर्तन भएको मितिले सात दिनभित्र सो कुराको विवरण सचिवालयलाई दिनु पर्नेछ ।